काठमाडौ, वैशाख १५ - संसदको राज्य व्यवस्था समितिले पीडितहरुलाइ तत्काल महसुस हुने गरी उद्दार, राहत र पुनस्र्थापनाको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको मंगलबारको बैठकले न्यूनतम सामग्री समेत प्राप्त गर्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । समितिले भइरहेको कामहरुको निरन्तर जानकारी गराउन पनि गृहमन्त्री बामदेव गौतमलाई निर्देश गरेको छ । समितिले पिडित र घाइतेहरुको सरल र सहजरुपमा नि:शुल्क उपचार गराउने व्यवस्था तत्काल मिलाउने, मृतकहरुको व्यवस्थापन गर्न भनेको छ ।
सवारी आवागमन सहज र सुचारु रुपमा सञ्चालन गराउदै राजधानी वाहिर जान चाहने तर सवारी भाडाको व्यवस्थापन गर्न नसक्ने यात्रुहरुका आवश्यक प्रवन्ध मिलाउन पनि सरकालाई आग्रह गरेको छ । त्यस्तै आपराधिक कृयाकलापमा संलग्न हुने प्रवृत्ति देखा परिसकेको यस अवस्थामा त्यस्ता कार्यलाई निरुत्साहित गर्न आवश्यक मात्रामा सुरक्षा निकायहरुको पेट्रोलिङ निरन्तर रुपमा सबै क्षेत्रमा गर्ने गराउने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ । कृत्रिम अभाव र कालोबजार नियन्त्रण गरी अत्यावश्यक सेवा सुविधा २४ सै घण्टा उपलब्ध गराउने, सेल्टरको रुपमा प्रयोग भएका स्थानहरुमा अत्यावश्यक सुरक्षाको प्रत्याभूति, खानेपानीको व्यवस्थापन र शौचालयको समेत उचित प्रवन्ध गर्न पनि समितिले भनेको छ । संभावित रोक नियन्न्त्रणका लागि व्यवस्थापन गर्ने ,निकट भविष्यमा नै सञ्चालन हुने विभिन्न परीक्षाहरुको सम्बन्धमा औचित्यतपूर्ण निर्णयको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पनि समितिले सरकालाई निर्देशन दिएको छ ।
Comments[ 0 ]
Post a Comment