काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । आगामी शुक्रबार उक्त पदका लागि हुने निर्वाचनमा महासङ्घका कार्यबाहक अध्यक्ष पशुपति मुरारका, पूर्व उपाध्यक्षद्वय श्रीमती भवानी राणा र भाष्करराज राजकर्णिकारले मनोनयन दर्ता गर्नुभएको प्रमुख निर्वाचन अधिकृत गोविन्ददेव पाण्डेले बताए ।
अध्यक्षका प्रत्यासी राणा यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष र राजकर्णिकार अध्यक्षमा पराजित भएका थिए । अध्यक्षमा प्रदीपजङ्ग पाण्डे र वरिष्ठ उपाध्यक्षमा मुरारका विजयी भएका थिए ।
झन्डै तीन दशकअघिको भ्रष्टाचार मुद्दामा गत चैत ३ गते सर्वोच्च अदालतले निर्वाचित अध्यक्ष पाण्डेलाई दोषी ठह¥याएपछि उक्त पद रिक्त भएको हो । महासङ्घको करिब पाँच दशक लामो यात्रामा पहिलोपटक एकै कार्यकालका लागि दोस्रो निर्वाचन हुँदैछ ।
आगामी २१ महिनाका लागि कार्यबाहक अध्यक्षले नै महासङ्घलाई नेतृत्व प्रदान गर्ने सर्वसम्मत निर्णय महासङ्घ कार्यकारी परिषद्बाट हुन नसक्दा निर्वाचन हुन लागेको हो ।
यसैबीच, रासससँग सङ्क्षिप्त कुरा गर्दै कार्यबाहक अध्यक्ष मुरारकाले व्यावसायिक एकताका लागि निर्विरोध अध्यक्ष चयनको पक्षमा आफू रहेको बताउँदै त्यस निम्ति सहमतिको प्रयास जारी रहेको स्पष्ट बताए ।
महासङ्घलाई राजनीतिबाट मुक्त गर्ने र मुलुकको अर्थतन्त्रको उन्नतिका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उनले भूकम्पपछिको देशको अर्थव्यवस्थामा भरथेग गर्न पनि एकता र मेलमिलापको सन्देश प्रवाह गर्न सहमति हुनैपर्ने बताएका छन् ।
Comments[ 0 ]
Post a Comment